
चीनले गत साता आर्थिक वर्ष २०२३–२४ का लागि रक्षा बजेट ७.२५ प्रतिशतले बढाएर लगभग २२५ अर्ब डलर पुर्याएको छ ।
चीनको संसद् नेसनल पिपुल्स कंग्रेसमा प्रधानमन्त्री ली खछ्याङले बजेट पेश गर्दै गर्दा सशस्त्र सुरक्षाकर्मीहरूलाई युद्धको तयारीमा अग्रसर हुन निर्देशन दिएका थिए ।
संसद्को उद्घाटन सत्रमा पेश गरिएको कार्य प्रतिवेदनको चर्चा गर्दै प्रधानमन्त्री लीले भने, ‘सेनाले सीमा रक्षाको प्रमुख उद्देश्यका साथ दृढता र लचिलोपनका साथ निर्धारित मिसनमा सफलता प्राप्त गरेको छ । अब सशस्त्र सैनिकहरूले युद्ध सम्बन्धी सामर्थ्य बढाउनुपर्छ अनि चीनको कम्युनिस्ट पार्टीले सुम्पिएको कार्य पूरा गर्नुपर्छ ।’
लीले थपे, ‘हाम्रा सशस्त्र सेनाको केन्द्रविन्दु पिपुल्स लिबरेसन आर्मी सन् २०२७ मा एक सय वर्ष पूरा गर्दैछ । त्यसबेलासम्म युद्धकलामा महारथ हासिल गर्दै सैन्य कारवाहीका लागि तयारी अवस्थामा बस्नुपर्छ ।’
चीनले आफ्नो सेनालाई संसारकै सर्वोत्तम सेना बनाउन खोजेको छ । अहिले अमेरिकी सेना सर्वश्रेष्ठ मानिन्छ । सन् २०२३ मा अमेरिकाको रक्षा बजेट ८१६ अर्ब डलर छ ।
चीनको बजेट त्यसभन्दा निकै कम भए पनि भारतको तुलनामा तीनगुणा बढी छ ।
चीनको रक्षा बजेट अमेरिकाको भन्दा कम भए पनि उससँग भएको २० लाख सैनिक संसारमै सबभन्दा धेरै हो ।
चीनका प्रधानमन्त्रीले रक्षा बजेटका बारेमा चर्चा गर्दा युद्धको तयारीमा जोड दिनुको के अर्थ लाग्छ ? कतै यो भारतमाथि आक्रमणको संकेत त हैन ? सन् २०२० मा पूर्वी लद्दाखको गलवानमा चीन र भारतका सैनिकहरूबीच भएको भिडन्त कतै ट्रेलर त हैन ?
चीनको रणनीतिका लागि दक्षिण चीन सागर महत्त्वपूर्ण क्षेत्र हो । त्यहाँका विशाल क्षेत्रमा चीनले आफ्नो स्वामित्व दाबी गर्ने गरेको छ ।
तर अमेरिकाले जलआवागमन स्वतन्त्रता भन्दै दक्षिण चीन सागरमा आफ्नो उपस्थिति दर्ज गर्ने गरेको छ । अनि उसले भारत, जापान र अस्ट्रेलियासँग मिलेर क्वाड बनाएको छ । त्यो अनि बेलायत र अस्ट्रेलियासँग मिलेर बनाएको अकस साझेदारी चीनको घेराबन्दीको प्रयास हो ।
क्वाडको सदस्य भएकाले भारतमाथि चीनको दृष्टिकोण सकारात्मक छैन । भारतलाई दबाब दिने उद्देश्यले नै चीनले स्थलसीमामा आक्रामकता बढाइरहेको छ ।
भारतका सेनाप्रमुख जनरल मनोज पाण्डेले जनवरी १२ मा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चीन सीमामा हालत स्थिर देखिए पनि आशानुरूप प्रगति हुन नसकेको बताएका थिए । सैन्य र कूटनीतिक स्तरमा भारत र चीनका अधिकारीहरूबीच कैयौं चरणमा वार्ता चलेको भए पनि कतिपय विवादित स्थानबाट चिनियाँहरूलाई पछि हटाउन भारतीयहरू सफल भएका छैनन् ।
हालै अमेरिकी गुप्तचर निकायहरूको प्रतिवेदन सार्वजनिक भएको छ । त्यसमा भारत र चीनबीच संघर्ष हुन सक्ने सम्भावना औंल्याइएको छ । सीमामा आमनेसामने रहेका यी दुई मुलुकका सैनिकहरू कुनै पनि बेलामा युद्धमा सहभागी हुन सक्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ताइवानका विषयमा चीन र अमेरिकाको भिडन्त हुने सम्भावना छ कि वास्तविक नियन्त्रण रेखाको विवाद चर्किएर भारत र चीनबीच युद्ध हुनेछ ? यसमा विश्लेषकहरूको एकमत छैन ।
***